सानुभाइ’नामले नामुद युवराज गुरुङ पक्राउ

दाश पन्न्नालाल दाश पन्न्नालाल 88 Views

२२ चैत, काठमाडौं — ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। गुण्डागर्दी र असुलीका गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले बताएका छन्।
गुरुङ विगतदेखि नै आपराधिक गतिविधिमा संलग्न रहँदै आएको आरोप खेप्दै आएका व्यक्ति हुन्। २०८० असारमा ठमेलस्थित एक क्लब सञ्चालकमाथि कुटपिट गरेको घटनामा पक्राउ परेका बेला प्रहरीले उनलाई हत्कडीसहित सार्वजनिक रूपमा बजार क्षेत्रमा घुमाएको थियो। त्यस घटनापछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो।
तर रिहापछि पनि उनीमाथि कुटपिट र असुलीका गतिविधि दोहोर्याएको आरोप लाग्दै आएको छ। प्रहरी स्रोतका अनुसार, उनको गतिविधिलाई निगरानीमा राखिएको थियो र पछिल्लो पक्राउ पनि सोही सिलसिलाको निरन्तरता हो।
प्रहरी रेकर्डले देखाएअनुसार, गुरुङको आपराधिक पृष्ठभूमि लामो छ। उनी कुनै समय कुख्यात गुण्डा नाइके कुमार घैंटेको समूहसँग आबद्ध रहेको बताइन्छ। २०७२ सालमा घैंटे प्रहरी मुठभेडमा मारिएपछि गुरुङले ‘बुलेट प्रुफ ज्याकेट’ प्रयोग गर्न थालेको र विभिन्न गतिविधिमा संलग्न रहँदै आएको उल्लेख छ।
सोही वर्ष २५ पुसमा नुवाकोटबाट उनलाई अवैध हतियारसहित पक्राउ गरिएको थियो, जहाँबाट रिभल्बर र गोली बरामद भएको थियो। त्यतिबेला प्रयोग गरेको बुलेट प्रुफ ज्याकेटसमेत प्रहरीले नियन्त्रणमा लिएको थियो।
यसअघि २०६७ सालमा गोंगबु क्षेत्रमा भएको एक धारिलो हतियार प्रहार घटनामा पनि उनको संलग्नता रहेको आरोप छ। त्यसयता उनी विभिन्न आपराधिक घटनामा मुछिँदै आएको प्रहरीको भनाइ छ।
२०७६ मा बैंकिङ कसूर सम्बन्धी मुद्दा र २०७७ मा पेस्तोल देखाएर कुटपिट गरेको घटनामा समेत उनी पक्राउ परिसकेका छन्। त्यस्तै, २०८२ साउनमा ठमेलको एक दोहोरी साँझमा झगडा गरेको आरोपमा पनि उनी नियन्त्रणमा लिइएका थिए।
बारम्बार आपराधिक गतिविधिमा नाम जोडिँदै आएपछि गुरुङमाथि प्रहरीले निगरानी कडा बनाएको जनाएको छ। पछिल्लो पक्राउसँगै उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
Share This Article