कपिलवस्तुमा साम्प्रदायिक झडप पछि निषेधाज्ञा: ५ घाइते, स्थिति नियन्त्रणमा

दाश पन्न्नालाल दाश पन्न्नालाल 174 Views

७ चैत्र, महाराजगञ्ज (कपिलवस्तु) — हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि कपिलवस्तुको महाराजगञ्ज–बर्गदवा क्षेत्रमा प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
शनिबार रामनवमी र ईद पर्वको अवसरमा माइकको आवाजलाई लिएर सुरु भएको विवाद विस्तारै चर्किँदै साम्प्रदायिक झडपमा परिणत भएको हो। झडपका क्रममा दुवै पक्षबीच ढुंगा हानाहान हुँदा कम्तीमा ५ जना घाइते भएका छन्।
स्थिति थप बिग्रिन नदिन जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको जनाएको छ। प्रशासनले उक्त क्षेत्रमा कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा गतिविधिमा प्रतिबन्ध लगाएको छ।
निषेधाज्ञा लागू गरिएको क्षेत्र पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रसम्म तोकिएको छ।
सुरक्षा निकायको सक्रियतापछि अहिले अवस्था नियन्त्रणमा आएको बताइएको छ भने थप अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी परिचालनलाई कडाइ गरिएको छ। प्रशासनले स्थानीयवासीलाई संयमित रहन र अफवाहमा नलाग्न आग्रह गरेको छ।

प्रतिक्रिया
Share This Article