धार्मिक सद्भाव बिगार्ने गतिविधिमाथि पर्सा प्रशासनको कडा निगरानी उल्लंघन गरे कैद र जरिवाना दुवै हुन सक्ने चेतावनी

दाश पन्न्नालाल दाश पन्न्नालाल 210 Views

२० पुस, बार । धनुषाको जनकपुरस्थित एक मस्जिदमा भएको तोडफोडको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।
मुस्लिम समुदायको प्रदर्शन जारी रहँदा प्रमुख जिल्ला अधिकारी भोला दाहालले एक सार्वजनिक अपिल जारी गर्दै सामाजिक सञ्जालमार्फत धार्मिक द्वेष, घृणा वा अफवाह फैलाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेका छन्। अपिलमा फेसबुक, टिकटक, इन्स्टाग्रामजस्ता डिजिटल प्लेटफर्ममा हुने गतिविधिहरूको प्रशासनले सूक्ष्म निगरानी गरिरहेको उल्लेख गरिएको छ।
प्रशासनका अनुसार, राष्ट्रिय एकता खल्बल्याउने, कुनै धर्म वा समुदायको अपमान गर्ने तथा धार्मिक स्थलमा क्षति पुर्‍याउने कार्यमा संलग्न भए मुलुकी अपराध संहिता २०७४ अनुसार कडा कारबाही हुनेछ। धार्मिक स्थलमा क्षति पुर्‍याए तीन वर्षसम्म कैद र धार्मिक भावना आहत पार्ने कार्यमा दुई वर्षसम्म कैद तथा जरिवानाको व्यवस्था रहेको प्रशासनले जनाएको छ।
त्यसैगरी, विद्युतीय कारोबार ऐन २०६३ अनुसार इन्टरनेटमार्फत घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको स्मरण गराइएको छ।
जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई सामाजिक शिष्टाचार, सहिष्णुता र आपसी सद्भाव कायम राख्न आग्रह गर्दै कानुन विपरीतका गतिविधिबाट टाढा रहन अनुरोध गरेको छ।

प्रतिक्रिया
Share This Article