बारा, साउन १३ — बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा भएको गहना चोरीको घटनाप्रति स्थानीयवासीले गम्भीर चासो व्यक्त गर्दै मन्दिर परिसरमा जडान गरिएको सिसिटिभी क्यामेराको फुटेज सार्वजनिक गर्न माग गरेका छन्।

गत साउन १० गते आइतबार राति मन्दिरको ताला तोडेर चार थान बहुमूल्य गहना चोरी भएको घटनापछि स्थानीयवासीले बुधबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी निष्पक्ष छानबिन, दोषीको तत्काल पहिचान तथा कानुनी कारबाहीको माग गरेका हुन्।
पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाका निवर्तमान सभापति चन्दनकुमार स्वर्णकारले धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको गढीमाई मन्दिरमा भएको चोरीले सर्वसाधारणमा गम्भीर चिन्ता र असुरक्षाको भावना पैदा गरेको बताए। उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा मन्दिरमा जडान गरिएका सिसिटिभी क्यामेराको फुटेज सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
प्रहरीका अनुसार चोरी भएका गहनामा चाँदीको मुकुट, सुनको जलप लगाइएको चाँदीको हार, सुनको तिलहरी तथा सुनको हार रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कँवरले मन्दिरमा जडान गरिएका सिसिटिभी क्यामेराको फुटेजका आधारमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्ने प्रयास जारी रहेको छ र अनुसन्धानलाई तीव्र बनाइएको छ। हालसम्म चोरीमा संलग्न कोही पनि पक्राउ पर्न सकेका छैनन्।
यता, गढीमाई विकास समितिका अध्यक्ष रामचन्द्र साहले घटनाबारे सार्वजनिक रूपमा प्रतिक्रिया दिन चाहेनन्। चोरीको विषयमा समितिको धारणा सार्वजनिक नभएको अवस्थामा स्थानीयवासीले पारदर्शी छानबिन र तथ्य सार्वजनिक गर्नुपर्ने माग दोहोर्याएका छन्।
विश्वप्रसिद्ध गढीमाई मन्दिरको सुरक्षा व्यवस्थामै प्रश्न उठ्ने गरी भएको चोरीको घटनाले धार्मिक स्थलहरूको सुरक्षा, व्यवस्थापन र निगरानी प्रणालीको प्रभावकारितामाथि समेत बहस सुरु भएको छ। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

Leave a Reply