बारामा आर्थिक गणना अन्तिम चरणमा, २१ हजार भन्दा बढी प्रतिष्ठानको विवरण संकलन

दाश पन्न्नालाल दाश पन्न्नालाल 217 Views

बारा, असार १। राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारा जिल्लामा सञ्चालन भइरहेको स्थलगत तथ्याङ्क सङ्कलन कार्य अन्तिम चरणमा पुगेको छ। हालसम्म जिल्लाभरका २१ हजार ७४ वटा व्यवसाय तथा प्रतिष्ठानको गणना सम्पन्न भएको छ।

जिल्ला आर्थिक गणना कार्यालय, बाराका जिल्ला आर्थिक गणना अधिकारी राजेश दासका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथली काठमाडौंले बारामा २० हजार ९ सय २१ प्रतिष्ठानको गणना गर्ने लक्ष्य निर्धारण गरेको थियो। तर, हालसम्मको तथ्याङ्क सङ्कलनले निर्धारित लक्ष्यलाई समेत पार गरेको छ।

प्रारम्भिक तथ्याङ्कले पछिल्ला वर्षहरूमा बारामा आर्थिक गतिविधि विस्तार हुँदै गएको तथा व्यावसायिक प्रतिष्ठानको संख्या उल्लेख्य रूपमा वृद्धि भएको देखाएको छ। यसले जिल्लाको आर्थिक क्षेत्र क्रमशः सुदृढ बन्दै गएको संकेत गरेको अधिकारी दासले बताए।

नेपाल सरकारको राष्ट्रिय तथ्याङ्क कार्यालयले “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२ सञ्चालन गरिरहेको छ। देशभर २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म स्थलगत तथ्याङ्क सङ्कलन कार्य जारी रहेको छ।

गणना कार्यलाई प्रभावकारी बनाउन बारा जिल्लामा ६६ जना गणक र ९ जना सुपरिवेक्षक परिचालन गरिएको छ। उनीहरूले स्थानीय तह, वडा कार्यालय तथा सरोकारवाला निकायसँग समन्वय गरी व्यवसाय तथा प्रतिष्ठानमा पुगेर आवश्यक विवरण सङ्कलन गरिरहेका छन्।
गणनाको क्रममा जिल्लाका १६ वटै स्थानीय तहमा रहेका उद्योग, व्यापार, सेवा, होटल, रेष्टुरेन्ट, निर्माण सामग्री, वित्तीय सेवा, कृषि तथा अन्य आर्थिक गतिविधिसँग सम्बन्धित प्रतिष्ठानहरूको विवरण संकलन गरिएको कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, स्थानीय तह, व्यवसायी तथा अन्य सरोकारवालाबाट प्राप्त सहयोगका कारण गणना कार्य प्रभावकारी रूपमा अगाडि बढिरहेको जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ। निर्धारित समयभित्र गुणस्तरीय तथ्याङ्क सङ्कलन सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको अधिकारी दासले बताए।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेको आर्थिक गणनाको उद्देश्य मुलुकका आर्थिक प्रतिष्ठानको वास्तविक अवस्था, रोजगारीको स्थिति, व्यवसायको प्रकृति, लगानीको अवस्था तथा आर्थिक योगदानसम्बन्धी विस्तृत विवरण सङ्कलन गर्नु रहेको छ।

गणनाबाट प्राप्त तथ्याङ्कले संघ, प्रदेश तथा स्थानीय तहका सरकारलाई नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवर्द्धन तथा आर्थिक विकासका कार्यक्रम तय गर्न महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

कार्यालयले गणनामा सहयोग गर्न तथा कुनै कारणवश छुटेका प्रतिष्ठानहरूले गणनाकर्मीलाई आवश्यक विवरण उपलब्ध गराउन सम्बन्धित व्यवसायी तथा उद्योगीलाई आग्रह गरेको छ।

आर्थिक गणनाको अन्तिम प्रतिवेदन सार्वजनिक भएपछि बारा जिल्लाको आर्थिक संरचना, व्यावसायिक प्रवृत्ति तथा रोजगारीको अवस्थाबारे थप स्पष्ट चित्र प्राप्त हुने जिल्ला आर्थिक गणना अधिकारी राजेश दासले जानकारी दिए।

प्रतिक्रिया
Share This Article