पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

 

ब्रेकिङ न्युज…..

पन्नालल दास—

काठमाडौं/ बारा, १४ चैत – ‘जेनजी आन्दोलन’ दमनसम्बन्धी घटनामा अनुसन्धान अघि बढाउँदै प्रहरीले पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, लेखकलाई भक्तपुरको कटुन्जेस्थित निजी निवासबाट शुक्रबार बिहान नियन्त्रणमा लिइएको हो।
नयाँ सरकार गठन भएसँगै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो।
उक्त निर्णयपछि गृहमन्त्री सुदन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग लगातार छलफल गरेका थिए। प्रहरीले कानुनी प्रक्रिया स्पष्ट पार्न सरकारसँग लिखित निर्देशन मागेपछि मध्यरातमा कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगानालाई प्रहरी प्रधान कार्यालय बोलाइएको थियो।
ढुंगानाले आवश्यक कानुनी कागजात तयार गरेपछि प्रहरीले ‘जरुरी पक्राउ पुर्जी’ जारी गर्दै लेखकलाई नियन्त्रणमा लिएको हो।
गत भदौ २३ र २४ गते भएको आन्दोलनमा भएको मानव क्षतिको विषयमा गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री लेखक तथा प्रहरी प्रमुख चन्द्रकुवेर खापुङमाथि फौजदारी अनुसन्धान सिफारिस गरेको थियो।
मुलुकी फौजदारी संहिता २०७४ को दफा १८१ र १८२ अन्तर्गत ‘लापरबाही तथा हेलचेक्र्याइँबाट ज्यान गएको’ कसुरमा कारबाही गर्न आयोगले सुझाव दिएको थियो।
यद्यपि सरकारबाट प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नगरिए पनि यसको अंश सञ्चारमाध्यममा आइसकेको छ। सोही आधार र पीडित पक्षको जाहेरीलाई टेकेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ।
प्रहरीले अब लेखकलाई कानुनी प्रक्रिया अनुसार अदालतमा उपस्थित गराउने तयारी गरेको छ।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *